समाचार

‘एउटा हात काटियो, अर्को हात र खुट्टा काट्ने पैसा छैन’

काठमाडौं । भनिन्छ मान्छेलाई उमेरले बच्चा, युवा, अधवैशे हुँदै बुढो बनाउँछ । तर मान्छेलाई उमेरले मात्र होइन, विवषताको भूमरीले पनि थिलोथिलो पार्छ । नपत्याए भ्यागे नेपालीलाई हेर्नुस्, के उनी ३६ वर्षको जस्तै देखिन्छन् ?
भलै यो उनको उमेरको चर्चा गर्ने बेला होइन । यहाँ सवाल जीवन, मरणको छ । भ्यागे बाँच्लान् कि मर्लान् ? यसको जवाफ उनीमाथि मान्छेले कति दया गर्छन् भन्नेले दिन्छ । कसैले दया नगरिदिएको भए, आजसम्म उनको शरीर अस्तित्वमै पो हुन्थेन कि !

भ्यागे कीर्तिपुर अस्पतालको बेडमा निदाइरहेका छन् । यद्यपि आजभोलि निदाउने बानी छैन । निदाउनकै लागि उनले औषाधि निल्नुपर्छ । औषधि भतिज (दाइका छोरा) मन नेपालीले खुवाइदिनुपर्छ । भ्यागेको त देव्रे हात पाँच दिनअघि डाक्टरले काटिदिए । दाहिने हातमा सेतो प्लास्टरमाथि गरमपट्टी बेरिएको छ । नबेरिएको भए पनि अहिले उनको यो हात चल्नेवाला थिएन ।
जब उनको अगाडि क्यामेरा तेर्सियो, भ्यागेका आँखा खुले । क्यामेरा देख्ने वित्तिकै खोपिल्टा परेका आँखा झन ठूला भए । अनुहार कच्याककुचुक परे । उनीसँग आँशु पुछ्ने हात छैन । सम्झने मस्तिष्क त छ नि ! सायद उनको आँशु त्यही दिनको सम्झनाले खस्यो कि !

सोरु गाउँपालिका, मुगुका भ्यागेको क्षेत्रीय भाषा बुझ्न थोरै कठिन छ । त्यो दिनको कथा सुनाउन मन नेपाली छन् । उदाश मनका मस्तिष्क उस्तै क्षतविक्षत छ ।
२९ जेठको विहान मन नेपाली अफिस जाने तयारी गर्दै थिए । फोनको घण्टी बज्यो, ‘हिजो तपाईंको अंकललाई करेन्ट लागेर भेरी अञ्चल अस्पतालमा हुनुहुन्छ । होसमा आउनेवित्तिकै तपाईको नाम लिनुभयो । तुरुन्त आउनुपर्‍यो ।’

सुरुमा मनलाई विश्वास नै लागेन । त्यसैले विश्वस्त हुन खोजे, ‘खै अंकललाई फोन दिनु त ?’
भ्यागे भकभकाए, ‘बाबु ! म मर्न आँटे । बचाउने भए आइजा ।’
अब पर्‍यो फसाद् । मनसँग काठमाडौंबाट नेपालगञ्जसम्म पुग्ने भाडा पनि थिएन । मानवअधिकारकर्मी सरबहादुर परियारले ३५ सय पठाईदिए । अर्को विहान, नेपालगञ्ज पुगे ।
अस्पतालमा भ्यागेलाई कुर्ने कोही थिएन । शैय्यामा निवस्त्र लडिरहेका थिए । एउटा कपडा ओडाइएको थियो । उनका हात र खुट्टा करेन्टले जलेर हेर्नै नसकिने थिए । मनको आँखा पनि आँशुले भिज्यो ।

भारतमा घर बनाउने काम गर्थे भ्यागे । उनी भारतबाट १७ हजार आईसी बोकेर घर फर्किँदै थिए । बाटैमा लुटिए । कलिकति पैसा जुटाएर नेपालगञ्जसम्म आइपुगे । त्यतिबेला उनको गोजीमा तीन सय रुपैयाँ थियो ।
साँझ झमक्क भइसकेको थियो । भ्यागे नेपाली नेपालगञ्जको बाटो बरालिँदै थिए । बाटोमा तीन/चार वटा कुकुर भुके । भ्यागे भागे । कुकुर पछिपछि लागे ।
मान्छेलाई आफ्नो ज्यानको माया त हुन्छ नि !

भ्यागे दौडिँदै विजुलीको पोल नजिक पुगे । छेउमा लठोजस्तो तार झुण्डिएको थियो । कुकुर धपाउन भ्यागेले के तार समाएका थिए, उनको शरिरभरि बिजुली चम्कियो । राता मासुहरु क्षणभरमै काला भए । अचेत भ्यागे अर्को दिन होसमा आउँदा भेरी अञ्चल अस्पतालमा थिए । उनले पाँच वर्ष र दुई वर्षका सन्तान सम्झिए । त्यो उजाडिएका घरलाई त के सम्झन्थे भ्यागेले ।
घर उजाडिएपछि मान्छे आफैंले आफ्नो जीवनलाई कसरी उजाड्छ ? त्यो पनि भन्छ भ्यागे जीवनले ।

भ्यागेसँग निकै राम्रो सीप छ । उनले कपडा सिलाएर थुप्रैको अनुहार उज्यालो पारिदिएका छन् । फाटेको कपडा टालेर थुप्रैको लाज छोपिदिएका छन् । विवाहमा पहिरिने कपडा सिउन पनि गाउँमा मानिसहरु भ्यागेलाई नै खोज्थे ।
यस्ता सिपालु भ्यागेको १० वर्षअघि बिहे भयो । त्यो पनि प्रेम विवाह । बिहेपछि जो कोही जीवनमा परिवर्तन आउँछन् । एउटा परिवर्तन, भ्यागेले पुर्खाको परम्परामा क्रमभंग गरे । बालिघरे कपडा सिउन छोडिदिए, माटोले छाएको सानो घरको एउटा कुनामा पसल खोले । गाउँलेले नाम राखिदिएका थिए– भ्यागेको टेलर ।

भ्यागेको जीवनको सपनाहरु विस्तारै जुर्मराउँदै थिए । कम्तिमा त्यो टेलर भ्यागेको परिवारको लागि खाने मेसो बनेको थियो । बेला–बेला भारत पुगेर कोट, पाइन्ट, टिसर्ट, कुर्ता लगायतका सिलाउने कपडा ल्याउँथे । घर श्रीमतीले सम्हाल्थिन् । उनीहरुको एक छोरा र एक छोरी भयो । भ्यागेका खुशी थपिए । सन्तानको खुशी कस्तो हुन्छ, त्यो सन्तान भएकाहरुलाई सोध्दा हुन्छ ।
तीन वर्षअघिको कुरा हो । भ्यागे कपडा लिन भारत गएका थिए । कपडा बोकेर सदरमुकामबाट हिँड्दै घर फर्किए । त्यतिबेला त के अहिले पनि भ्यागेको घरसम्म मोटरबाटो पुगेको छैन । मोटरबाटोबाट चार घण्टा गोरेटो बाटो हिँडेर उनको घर पुग्नुपर्छ ।

भ्यागेले कपडाको भारी पिढीमा विसाउँदा भित्रबाट पानी ल्याइदिने कोही थिएनन् । घरमा न श्रीमती थिइन्, न छोराछोरी । गाउले सुनाए, ‘तेरो बुढी त पोइला गई ।’
भ्यागेले कपडा टिपेर पाटामा फालिदिए । उनको दिमागको नशा टिनिक्क भयो । त्यसपछि जीवनबारे सोच्नै छाडे । कपडा सिलाउने मेसिन बेचे । गाई बेचेर गोठ रित्तै बनाए । एकएक गर्दै घरभित्रको गाग्री, टाउलो, गमला सबै बेचे । अब उनको घर र ठाँटीमा त्यति ठूलो अन्तर हुन छाड्यो । उस्तै उजाड उजाड

अनि भ्यागेले गाउँ नै छोडिदिए । काम गर्न भारत लागे । ५/६ महिनामा घर फर्कन्थे । के घर फर्कन्थे भन्नु प्राय नेपालगञ्ज–धनगढीतिरै टहलिन्थे । कहिलेकाँही मात्र गाउँमा देखिन्थे । उनले न मोवाइल बोक्थे, न कुनै सपना । तर, उनलाई एउटा चिन्ताले भने पिरोलिरहन्थ्यो, ‘त्यो सानो छोरा–छोरी… ।’
दुई महिना पहिला भतिजो मनसँग फोनमा खुव आशा लाग्दो कुरा गरेका थिए भ्यागेले, ‘बाबु, अब बिहे पनि गर्नुपर्ने होला । छोराछोरीलाई राम्रोसँग पढाउन पाए, अरु मलाई केही चाहिने थिएन ।’
तर, उनलाई अहिले विजुलीले चल्न सक्ने मात्र बनाएको छ । खासमा सडकमा जथाभावी नांगो तार छोड्ने प्राधिकरणले भ्यागेले जीवनरक्षाको जिम्मेवारी उठाउनुपर्ने हो । तर, भ्यागे आर्थिक अभावमै जीवनमरणकै दोसाँधमा उभिनु परिरहेको छ ।

भेरी अञ्चल अस्पताल पुगेका मनलाई देख्नेबित्तिकै डाक्टरले भनेका थिए, ‘यहाँ उपचार हुँदैन काठमाडौं लागिहाल्नुस् ।’
त्यहाँ पनि सुकबहादुर परियारले नै सहयोग गरे । मनले काठमाडौंका लागि प्लेनको टिकट काटे । भ्यागेलाई एम्बुलेन्समा राखेर मन एयरपोर्टमा पुगे । भ्यागेलाई देख्ने वित्तिकै बुद्ध एयरले भनिदियो, ‘हामीसँगै सिरियस केश छ, उहाँलाई लैजान मिल्दैन । बाटैमा मर्‍यो भने हामीले के गर्ने ?’ मनको केही लागेन ।

मनलाई अर्को तनाव के भने एम्बुलेन्सलाई तिर्ने भाडा छैन । यो संसारमा समस्या भन्ने चीज मात्र छैन, समाधान भन्ने उपाय पनि छ । अवेरसम्म गरेर भएपनि जुट्यो, एम्बुलेन्स खर्च । ३१ गते राति सात बजे ट्रमा सेन्टरको गेटमा रोकियो एम्बुलेन्स । जनताको अस्पतालले यस्तो गर्ला भन्ने सोचेकै थिएनन् मनले ।
हो, ट्रमाले भर्ना लिनै मानेन, शिक्षण अस्पताल पठाइदियो । शिक्षणले फेरि ट्रमामै पठाइदियो । भ्यागेलाई पुनः ट्रमामै ल्याइपुर्‍याए मनले । तर, डक्टरहरुले भनिदिए, ‘कहाँ यस्तो विरामीलाई भर्ना गर्ने ? राति मर्‍यो भने के हुन्छ । जवरजस्ती नगर्नुस् । पुलिस बोलाइदिऔं ।’ हाम्रा अस्पतालहरु कति असंवेनशील ! मृत्युको मुखमा अड्किएका विरामीसँग पनि मजाक गर्छन् ।
उदास मनले आँखा टिलपिल पार्दै भन्छन्, ‘त्यतिबेला मसँग एक रुपैयाँ पनि थिएन । यहाँ सबैले पैसा हेर्दोरहेछ । पैसा नभए न कुनै आँट आउने न केही रहेनछ ।’ रातको १२ वजे ट्रमा सेन्टरले भ्यागेलाई वाहिर निकालिदियो ।

एक बजे भ्यागेलाई कीर्तिपुर वर्न अस्पतालमा पुर्‍याए । १० हजार धरौटी राख्नुपर्ने । मनले कीर्तिपुरमा रुँदै भने, ‘आज राखिदिनुहोस्, भोलि जसरी पनि धरौटी राख्ने पैसा जुटाउँछु ।’
अर्को दिनबाट केही अभियन्ताले सहयोगको अपिल गरे, केही रकम जुट्यो पनि । तर, भ्यागेको उपचार पूरा भएको छैन । डा. कमलराज पाठक भन्छन्, ‘उहाँको दाहिने हात पनि काटेर फ्याक्नुपर्छ । दाहिने खुट्टाको जोर्नी पनि काम नलाग्ने छ । त्यो खुट्टा पनि काट्नुपर्छ । अपरेशनका क्रममा केही जटिलता पनि आउन सक्छन् । एउटा अपरेशनको १२ देखि २० जहार रुपैयाँसम्म लाग्छ । उहाँलाई औषधि पनि हाइ डोजको दिनुपर्ने हुन्छ ।’

डाक्टरको छेउमा उभिएका मन सोचमग्न छन् । एक छिनपछि अँध्यारो मुख लगाएर मनले भने, ‘अप्रेशन गरेको दिन २१ हजारभन्दा कमको विल आउँदैन । अहिलेसम्म डेढ लाख खर्च भइसक्यो । अब खै कसले पैसा दिन्छ र उपचार गर्ने ।’
भ्यागेलाई भने जीवनको माया छैन । भ्यागेले मनसँग भनेका थिए, ‘मेरो हात काट्दा किन भुडीमा काटेर मारेनौं ।’ मनको भनाइलाई मान्ने हो भने, उनको मस्तिष्कमा असर परेको छ, आधाउधी मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार गर्छन् ।

भ्यागे नेपाली सुतिरहेको शैय्याबाट उठ्न खोजिरहन्छन्, टाउकोबाहेक अरु उठ्दैन, अनि फेरि सिरानीमै टाउको बजार्छन् । पट्टीले बेरिएको शरीर हेर्छन्, अनुहार बिगारिहाल्छन् । उनको मनमा कस्तो हुन्डरी छल्दैछ, त्यो उनीबाहेक कसलाई पो थाहा हुन्छ र । र, पनि भ्यागे, पहिलेजस्तै कपडा सिलाउन चाहन्छन् । भन्छन्, ‘म त सरकारले जे गर्छ, त्यहीँ गर्छु । मर भने मर्छु, बाँच भने बाँच्छु । तर, बाँचेपछि सबैलाई कपडा सिलाउन सिकाउन मन छ ।’
उता मन विलौना गर्दैछन्, ‘एउटा हात त काटियो । अर्को हात र खुट्टा काटेर फाल्ने पैसा छैन ।’

Related Articles

Back to top button
Close