समाचार

आँखा बन्द कान बन्द गर्नुहोस् र, अन्जु पन्तलाई बुझ्नुहोस्, फरक पाउनुहुनेछ: अन्जु पन्त

जब तपाईं अन्जु पन्तलाई सुन्नुहुन्छ, उनको जीवन–संगीतको धुन माधुर्य लाग्नेछ । जब अन्जु पन्तलाई हेर्नुहुन्छ, उनको जीवन–संगीतको ताल टुटेको देख्नुहुनेछ
आँखा बन्द गर्नुहोस्, कान बन्द गर्नुहोस् र, अन्जु पन्तलाई बुझ्नुहोस्, फरक पाउनुहुनेछ ।
अन्जुलाई बुझ्नका लागि सन् २०११ मा फर्कनुपर्छ ।
त्यसबेला उनको करिअर उत्कर्षमा थियो । ‘न बिर्सें तिमीलाई’ गीतसँगै लोकप्रियताको ग्राफमा उक्लिरहेकी उनी गीतमा आफ्नो भाका मिसाउन सक्थिन्, भाव मिसाउन सक्दैनथिन् । अरुले लेखेको गीत, अरुले निकालेको धुनमा उनको भाव कसरी समेटियोस् ?

मनोजराज शिवाकोटीसँगको दाम्पत्य टुट्यो । सानी छोरीलाई लिएर उनी अलग भइन् । घरबार टुटेलगत्तै विरामी परिन् ।
पिनासबाट सुरु भएको रोग घाँटीसम्म पुग्यो । स्वर सुक्यो । अन्जु भन्छिन्, ‘त्यसबेला मेरो स्वर सुकेको थियो । मेरो स्वर त सर्पको जस्तै भएको थियो ।’
त्यसमा थपियो, माइग्रेन । त्यसपछि मिर्गौलामा समस्या । उनी थिलथिलो भइन् । रोगै रोगले थलिएका उनी जसोतसो तंग्रिँदै थिइन्, अर्को दशा आइलाग्यो ।
मान्छेहरु भन्न थाले, ‘अन्जुले हिन्दु धर्मसँग सम्बन्धित गीत नगाउने रे ।’ यो आरोप कहाँबाट पैदा भयो उनले भेउ पाइनन् । तर, त्यसको झटारो उनको मर्ममा पर्‍यो । उनको भवनाका गहिरो घाउ लाग्यो ।

अध्याँरोभित्र आफूलाई लुकाउँदा

कसैले भने, ‘बलात्कार गरेर मारिदिन्छौं ।’ कसैले भने, ‘सांगीतिक क्षेत्रबाटै बहिस्कार गरिदिन्छौं ।’
उज्यालोले उनलाई तर्साउन थाल्यो । उनी समाजबाट आफूलाई लुकाउन चाहन्थिन् । अँध्यारो कोठामा थुनिएर अन्जुले दिनहरु काट्न थालिन् । ‘त्योबेला एक्लै बसेर कति रोएँ, कति’ अन्जु भन्छिन्, ‘आँशुले शरीर भिज्थ्यो ।’
अन्जु सम्झन्छिन्, ‘त्यसबेला म इसाई धर्ममा लागेकी थिएँ । यो मेरो नितान्त व्यक्तिगत रुची र रोजाइ थियो । तर, समाजले मलाई अस्वीकार गरिरह्यो ।’
उनलाई खुला समाजमा हिँड्न डर लाग्थ्यो । सामाजिक सञ्जाल हेरिसक्नु थिएन । मोवाइलको घण्टीले तर्साइरहन्थ्यो ।

यस्तो भयो, मानौ ‘धर्म परिवर्तन’ गर्नु नै उनको अपराध हो । त्यही कारण उनलाई लखेटेको लखेटेकै गरिरह्यो । जहाँ पुग्यो, धर्मको नाममा कटाक्ष खेप्नुपर्ने । त्यो यातना उनले पचाइरहिन्, चुपचाप–चुपचाप ।
अन्जु सम्झिन्छिन्, ‘त्यो समय मलाई मार्छु र काट्छुसम्मका धम्कीहरु आए । तर, मैले उहाँहरुलाई कहिल्यै नराम्रो जवाफ फर्काइन् ।’
वास्तवमा अन्जुले हिन्दु गीत गाउँदिन भनेर बोलेकी थिइनन् । उनी भन्छिन्, ‘एउटा भजन गीत थियो । त्यो पनि एक लाइन मात्र गाउनुपर्ने । त्यो मैले गाउदिनँ भनेकी थिएँ, त्यसैलाई अफवाह फैलाइयो ।’

तड्पिइरहनुको विकल्प थिएन । ‘हामीले १० जना केटा खटाएका छौं । ती केटाहरु तेरो घर वरिपरि छन् । तँ घरबाट निस्किस भने तेरो त्यहीँ बलात्कार गरेर हत्या गर्दिन्छन् भन्नेसम्म म्यासेज आउथ्यो’ अन्जु ती दिन सम्झिन्छिन् ।
अन्जुलाई संगीतिक क्षेत्रले नै बहिस्कार गर्नेसम्मको कुरा आयो । अन्जु भन्छिन्, ‘बहिस्कार गर्ने कुराहरु त म थेग्नसक्ने भइसकेकी थिएँ । अरुको गाली र अपमान सहँदा सहँदा मेरो मुटु पनि कठोर भइसकेको थियो । सोचें, आफैं सन्यास लिनेछु ।’

पीडाको सिलसिला

सम्बन्ध विच्छेदअघि नै अन्जु पन्त डिप्रेसनमा थिइन् । उनको भनाइ अनुसार त्यसबेला श्रीमानले गर्ने व्यवहार र कुटपिटबाट उनी गलेकी थिइन्, हारेकी थिइन् । तर, यी कुराहरु उनले कतै सुनाइनन्, कसैलाई भनिनन् । मनमै गाँठो पारेर राखिन् ।

अन्जु भन्छिन्, ‘वैवाहिक जीवनमा हुँदा ममाथि शंका गर्ने र सानो कुरामा झगडा गर्ने भइरहन्थ्यो । तर, त्यो कुराले आफैंलाई हानी गर्ने बुझेर म त्यसलाई चुपचाप सहेर बस्थें ।’

अति भएपछि उनले सम्बन्ध र करियरलाई दाउमा राखिन् । १० बर्षको दाम्पत्य सम्बन्धलाई सधैंका लागि बिट मार्ने निर्णयमा पुगिन् । ‘सम्बन्ध विच्छेद गरिसकेपछि भने बल्ल मैले खुला संसारमा सास फेरिरहेको अनुभव गरें’ अन्जु भन्छिन्, ‘म पीडाको दलदलमा कति नराम्ररी फसेकी रहेंछु भन्ने बल्ल थाहा भयो ।’
एउटा पीडाबाट पार पाए पनि उनी पूर्णत मुक्त थिइनन् । त्यसपछि उनका खुसी र हाँसो लुट्नेहरु सल्बलाउन थाले । पत्रिकामा खबर आयो, ‘अन्जु पन्तका दुईवटा प्रेमी छन् ।’ पुरानो र नयाँ फोन नम्बर राखेर फरक प्रेमीलाई फरक नम्बर दिन्छिन् जस्तो आशयमा समाचार छापिएको थियो । यावत् आरोप र वचनले उनका आँखा ओभानो रहन दिएनन् ।

हाँस्नलाई ओठ खोलें

केही समय अन्जुले गीत गाइनन् । तर, अफर भने त्यो समयमा पनि आइरहेका हुन्थे । म्युजिक कम्पनीले नमाने पनि गीतकारहरुले अन्जुलाई खोज्थे । संगीतकारहरु पनि अन्जुलाई नै गाउन अफर गर्थे ।
गाउनका लागि अफर गर्नेहरुलाई उनी एउटै जवाफ फर्काउँथिन्, ‘जीवन रहेछ भने म पछि गाउनेछु । अहिलेलाई माफ गरिदिनु होला है ।’
त्यसबेला अन्जुले यो समय फर्केला भनेर सोचेकी पनि थिइनन् । उनलाई लागेको थियो, ‘अब त म गीत गाउँदिनँ । गाए पनि आत्मा सन्तुष्टिका लागि प्रभूको गीत गाउँछु ।’

तर उनले विश्राम पाइनन् । गीत गाइदिनुपर्‍यो भन्दै आउनेहरुको मन राख्नकै लागि पनि गाउन थालिन् । लोकगीतदेखि चलचित्रको गीतसम्म आवाज दिइन् ।
पछिल्लो समय उनले आवाज दिएका गीतहरुले युट्युबमा करोड भ्युज पार गरेका छन् । उनले स्वर दिएको ‘सुर्के थैली खै’ बोलको गीत नेपालमा पहिलो पटक करोड पटक हेरिएको गीत बन्यो । उनले स्वर दिएका ‘म यस्तो गीत गाउँछु, भन्छु आज, तिमी रोएको पल, चरी चट्ट परी, रहर छ सँगै’ लगायत धेरै हिट छन् ।
अहिले अन्जुको व्यस्तता निकै बढेको छ । दिनमा चार वटासम्म गीत रेकर्ड गराइरहेकी छिन् । स्टेज कार्यक्रममा पनि उनको उपस्थिति लोभलाग्दो छ । निष्कर्षमा उनी भन्छिन्, ‘सबैभन्दा घृणा गरिएकी र सबैभन्दा बढी माया पाएकी गायिका म नै होला ।’

जीवन एक उपहार

गायिका अन्जु पन्त आफ्नो जीवनलाई एक सुन्दर उपहार भन्छिन् । यो कुरा उनको जिब्रोबाट पटक-पटक फड्किरहन्छ, ‘जीवन साच्चिँकै सृष्टिको सुन्दर उपहार हो ।’
वनमा अन्जुले धेरै दुःख झेलेकी छिन् । तर, पनि उनी आफ्नो जीवनलाई सुन्दर देखिन्छन् । मनभित्रका असह्य पीडाहरुलाई बिर्सिएर दिनभर रेकर्डिङ स्टुडियो र स्टेजमा दर्शकसँग हाँसिरहेकी छिन् उनी ।

एउटा यस्तो समय थियो, जुनबेला अन्जु पन्तको स्वर जताततै गुन्जायमान हुन्थ्यो । रेडियोदेखि टेलिभिजनमा समेत अन्जुको स्वरहरु गुन्जिरहन्थे । लोकगीतदेखि चलचित्रको गीतसम्म अन्जुको आवाज सुनिन्थ्यो । दिनमा ७ वटा गीतसम्म रेकर्ड गराउँथिन्, अन्जुले । आज त्यही दिन फर्किएको छ । उनको ओठको हाँसो फर्किएको छ ।
अन्जुले आफ्नै नाममा परोपकारी संस्था (फाउन्डेसन) खेलेकी छन् । ‘अन्जु पन्त फाउन्डेशन’ मार्फत समाज सेवाका काम गरिरहेकी हुन्छिन् । विकट गाउँमा पुगेर त्यहाँको बच्चालाई पाठ्यपुस्तक वितरणदेखि स्वास्थ्य शिविर समेत उनले गरिरहेकी हुन्छिन् ।

अहिले भने अन्जु आफ्नो ड्रिम प्रोजेक्टमा लागेकी छिन् । उनलाई पर्साको गाउँमा एउटा बस्ती बनाइदिनु छ । अन्जु भन्छिन्, ‘त्यहाँ हामीले ३५ वटा घर बनाइदिने योजना बनाएका छौं । यसको अनुमानित लागत लागत ३ करोड छ ।’
‘त्यत्तिको लगानी कसरी उठाउने ?’, यो प्रश्नले उनलाई पिरोल्न थालेको छ । केही पैसा ‘च्यारिटी शो’ गरेर उठाएकी छिन् । भन्छिन्, ‘च्यारिटी गरेर यत्रो लगानी उठाउन त गाह्रो रहेछ । अब सहगोग माग्नुपर्ने अवस्था आएको छ ।’

अहिले धेरै जना चन्दा उठाएर समाजसेवा गरिरहेका छन् । त्यहीँ हुलमुलमा मिसिनु पर्दा हीनताबोध पनि छ । भन्छिन्, ‘आजसम्म मेरो हात माथि नै थियो । मागेर हैन, दिएर चलेको थियो । अब भने म आफैं माग्नु पर्ने अवस्थामा पुगें ।’
अन्जुले अनलाइनखबरसँग भनिन्- ‘जब पानी पर्छ, उहाँहरुलाई सम्झिन्छु । मेरो आशु झर्छ । मलाई उहाँहरुको घर छिट्टै बनाइदिने मन छ ।’

Related Articles

Back to top button
Close