समाचार

नेपाली आकास माथि नै अब नेपाली स्याटेलाइटकै आँखा, भयो विश्वभरिबाट स्वागत (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

नेपालको पहिलो स्याटेलाइट (भू-उपग्रह) आज सोमबार अपरान्हदेखि आकाशमाथि घुम्न थालेको छ।
दुई महिनाअघि अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी ‘अर्बिटल एटिके’ को रकेटबाट अन्तरिक्षमा छाडिएको नेपाली स्याटेलाइटले सोमबारदेखि पृथ्वीको डाटा लिन थाल्नेछ। यसअन्तर्गत तस्बिर खिच्ने र मौसमसम्बन्धि साधारण जानकारी दिने काम स्याटेलाइटले गर्नेछ।
नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोअंकित उक्त भू-उपग्रहलाई ‘नेपाली स्याट-१’ नाम दिइएको छ। दुई महिनाअघि नै छाडिएको भए पनि हालसम्म यो अन्तरिक्षको भू-उपग्रह स्टेशनमा परीक्षण हुँदै थियो। यसलाई आज पृथ्वीको कक्षमा छाडिने नास्टका डाटा सेन्टर प्रमुख रोशन पाण्डेले सेतोपाटीलाई जानकारी दिए।

‘अन्तरिक्षको स्टेशन (कार्गो) मा गएर बसेको स्याटेलाइटलाई आज पृथ्वीको कक्षमा छाडिन्छ,’ उनले भने, ‘यो स्याटेलाइट पृथ्वीबाट चार सय किलोमिटर माथि रहन्छ। नेपाली आकाशमा आएर यहाँको तस्बिर खिच्छ।’
यो स्याटेलाइट एकै ठाउँमा बस्दैन, घुमिरहन्छ। यसलाई पृथ्वीको एक चक्कर काट्न डेढ घन्टा लाग्छ। दिनमा तीन पटकसम्म यो नेपाली आकाशमाथि आउने उनले जानकारी दिए।

‘यो अहिले नै हामीकहाँ आइपुगेको छैन,’ सोमबार दिउँसो पाण्डेले भने, ‘यसले काम गरिरहेको छ/छैन बुझ्न भुटानका साथीहरूलाई भनेका छौं। डाटा लिइदिन पनि भनेका छौं।’
नेपालले आफ्नै स्याटेलाइट अन्तरिक्षमा छाडे पनि त्यसले दिने डाटा हेर्ने र संकलन गर्ने आफ्नै केन्द्र भने बनाइसकेको छैन। आगामी एक साताभित्र सेन्टर निर्माण गरिने र त्यसपछि सिधै डाटा लिन सकिने पाण्डेले जानकारी दिए।

स्टेशन खुमलटारस्थित नास्टको भवनमै रहनेछ। योबाहेक स्याटेलाइट बनाउन सघाउने जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक) बाट पनि डाटा लिन सकिनेछ। क्युटेकले स्याटेलाइट नभएका नेपालजस्ता देशलाई सहयोग गर्दै आएको छ।
डाटा सेन्टर त बन्ने भयो, अध्ययन गर्ने जनशक्ति नास्टमा छन् त?
‘छन्, धेरै जनशक्ति चाहिँदैन,’ नास्टमा डाटा सेन्टर प्रमुख पाण्डेले भने, ‘यो ठूलो स्याटेलाइट होइन नि! यसले फोटो त पठाउने हो।’
स्याटेलाइटले पठाउने डाटा व्यवसायिकभन्दा पनि शैक्षिक प्रयोजनका लागि प्रयोग हुने उनले बताए।

‘नेपाली आकाशको यही विन्दुमा स्याटेलाइट आउँछ भन्न सकिँदैन,’ उनले भने, ‘यो घुमिरहन्छ। हाम्रो आकाशमा आएका बेलाको डाटा लिनुपर्छ। एक पटकमा तीन मिनेटजति बस्छ।’
यो भू-उपग्रहलाई नेपालको विज्ञान क्षेत्रकै एक महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ। नास्टका अधिकारीहरू यसलाई सफल प्रयास मान्छन्।
‘हामी नेपालका वैज्ञानिकहरूले लामो समयदेखि देख्दै आएको सपना साकार हुँदैछ,’ नास्टको प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालले सेतोपाटीसँग भने।
नास्टका अनुसार यो स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ। नानो भनेको सानो आकारको हो, जुन एकदेखि १० किलोको हुन्छ। योभन्दा सानो स्याटेलाइट पनि हुन्छ, जसलाई ‘पिको’ भनिन्छ। यसको तौल सय ग्रामदेखि एक किलोसम्म हुन्छ।

हाम्रो स्याटेलाइटको तौल १ किलो हाराहारी छ। यसको लम्बाइ, चौडाइ र उचाइ १०-१० सेन्टिमिटर छ। पाँच मेगापिक्सल क्यामरा भएको यसले खिचेका तस्बिर र सूचनाले सम्बन्धित ठाउँको प्रारम्भिक अवस्था अध्ययन गर्न मद्दत पुग्ने ढकालले बताए। स्याटेलाइट सानो भएकाले क्यामरा पनि कम गुणस्तरको भएको उनी बताउँछन्।

तीन वर्ष आयु रहेको यो स्याटेलाइटले पठाउने तस्बिरहरू एकदमै सामान्य हुनेछन्।
हुन त स्याटलाइटले खिच्ने तस्बिरबाट हावाहुरी, बाढी, प्रकोपदेखि नदीनाला र हिमालहरूको विस्तृत अवस्था पत्ता लगाउन सकिन्छ। तर, हाम्रो सानो स्याटेलाइट यति धेरै सूचना पठाउन सक्षम छैन। यसको क्यामराको गुणस्तर र क्षमता कम छ।

‘हाम्रो स्याटेलाइटले अमेरिका, बेलायत वा जापानका ठूला स्याटेलाइटले जस्तो काम गर्दैन,’ ढकालले भने, ‘आज उडाएपछि भोलिबाटै मौसमको ठीक ठीक पूर्वानुमान गर्न सक्छौं भन्ने होइन। यसले सामान्य जानकारी मात्र दिने हो। कुन ठाउँमा के भइरहेको छ भन्न सक्छौं, तर ठ्याक्कै क्षेत्र तोक्न सक्दैनौं।’
उदाहरणका लागि, सुनसरी चारकोशे झाडीमा आगलागी भएको तस्बिरबाट देखिए पनि ठ्याक्कै कुन ठाउँमा आगो लागेको हो यकिन हुँदैन। यसको निम्ति अन्य शक्तिशाली स्याटेलाइटको मद्दत लिनुपर्नेछ।
क्युटेकसँग मिलेर बनाइएको यो स्याटेलाइट परियोजनामा स‌ंयुक्त राष्ट्रसंघको सहयोग छ। स्याटेलाइट बनाउन नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र नेपाली वैज्ञानिक आभाष मास्के जापानमै बसेर काम गरिरहेका छन्।

श्रेष्ठ क्युटेकमै इलेक्ट्रिकल तथा कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका छन् भने मास्के स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन्।
उनीहरू दुई जना र अरू विभिन्न देशका आठ जना विद्यार्थी मिलेर यी स्याटेलाइट बनाएका हुन्।
यस निम्ति नेपालले क्युटेकलाई एक करोड ८० लाख रुपैयाँ पठाएको थियो। त्यही पैसाले जापानमै सामान किनेर स्याटेलाइट बनाएको ढकालले जानकारी दिए।
यसरी निर्माण भएको स्याटेलाइट क्युटेकले जापानको एरोस्पेस कम्पनी ‘ज्याक्सा’ लाई बुझायो। नेपाली स्याटेलाइट कहाँ लगेर, कसरी उडाउने भन्ने निर्क्यौल गरेको ज्याक्साले नै हो।

सबै काम जापानमा गरिएको स्याटेलाइट अमेरिकाबाट किन उडाइयो?
ढकालका अनुसार संसारमा अमेरिका, जापान, भारत, चीन लगायत १२ देशबाट मात्र स्याटेलाइट उडाइन्छ। उडान खर्च र त्यसको निम्ति चाहिने प्रविधि धान्न सबै देश सक्षम छैनन्।
यति मात्र होइन, सकेसम्म पृथ्वीको मध्यभागमा पर्ने क्षेत्रबाट स्याटेलाइट उडाउनु राम्रो हुने ढकाल बताउँछन्।
‘मध्यभागबाट सिधा माथि छाड्दा पछि त्यसको ठाउँ तय गर्न सहज हुन्छ,’ उनले भने, ‘दुर्घटना नहोस् भनेर मान्छेको बसोबास क्षेत्रबाट टाढा समुद्रनजिक वा टापुतिरबाट उडाउनुपर्छ।’

नेपालको स्याटेलाइट जापानले पनि उडाउन सक्थ्यो। तर, त्यहाँ यो सिजनका लागि रकेट उडाउने कम्पनी खाली थिएन। कुन कम्पनी खाली छ भनेर खोज्दै जाँदा अमेरिकाको ‘अर्बिटल एटिके’ फेला परेको हो।
स्याटेलाइट उडाउने र ग्राउन्ड स्टेसन बनाउने काम सँगसँगै गर्नुपर्ने थियो। तर, स्टेसन बनाउन टेन्डर आह्वानका सबै प्रक्रिया सक्दा ढिलाइ भएको नास्टको भनाइ छ।
स्टेसन निम्ति २० लाख हाराहारी बजेट छुट्टयाइएको छ।

अब प्रश्न उठ्छ, चहकिलो तस्बिरसमेत पठाउन नसक्ने सानो स्याटलाइट उडाएर नेपाललाई के फाइदा? कतै यो हाम्रो रहर मात्र त होइन?
ढकाल यसलाई सुरूआती कदमका रूपमा लिन्छन्।
‘यो हाम्रो सुरूआती तर महत्वपूर्ण कदम हो,’ उनले भने, ‘मान्छेको बच्चा पनि उभिएर टुकुटुकु हिँड्नुअघि भुइँमा घस्रन्छ नि, यो पनि त्यस्तै हो।’
‘सानो भए पनि हामी अन्तरिक्षमा उपस्थिति जनाउन सफल हुनेछौं। यही अनुभवका आधारमा आगामी दिनमा शक्तिशाली स्याटेलाइट निर्माण गर्न सक्षम हुँदै जानेछौं,’ उनले भने।

क्युटेकसँगको सहकार्यले उसको पहुँचमा रहेका अन्य स्याटेलाइटसँग पनि हामी जोडिनेछौं। ‘हामी बंगलादेश वा घानाको स्याटेलाइटले खिचेका तस्बिर प्रयोग गर्न सक्छौं,’ उनले भने।
उनका अनुसार नेपालको आफ्नै स्याटेलाइट नहुँदा स-साना विवरण निम्ति पनि अन्य मुलुकसँग सहयोग माग्नुपर्छ। सानो सूचनाका लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता छ।
‘हाम्रो स्याटेलाइटले सोचेअनुरूप काम गर्यो भने यो प्रवृत्ति केही हदसम्म अन्त्य हुन्छ,’ उनले भने, ‘विस्तारै हामी अर्को चरणको स्याटेलाइटमा जान सक्यौं भने त विदेशीसँग किन्नै पर्दैन।’

यो स्याटेलाइटको आयु नसकिँदै मध्यम आकारको स्याटेलाइट उडाउने नास्टको लक्ष्य छ।
नेपाली स्याटेलाइट जुन गुणस्तर र प्रकृतिको छ, त्यो पहिलो चरण हो। यसलाई ‘युनिट १’ भनेर वर्गीकरण गरिएको छ। अब ‘युनिट ३’ मा जाने प्रयास भइरहेको ढकालले बताए।
युनिट ३ मा गइसकेपछि स्याटेलाइटको क्यामरा र सेन्सर गुणस्तरीय हुनेछ।
‘त्यसपछि हामी स्याटेलाइटबाट आउने रेकर्ड हेरेर स्थिति आकलन गर्न सक्छौं,’ उनले भने, ‘त्यही अवस्थासम्म पुग्न यो हामीले चालेको पहिलो कदम हो।’

Related Articles

Back to top button
Close