समाचार

इमानदार, सरल र सच्चा राष्ट्रवादी राजा वीरेन्द्रको सम्झना !

राष्ट्रको हित सर्वाधिक महत्वको हुन्छ, राजनेताका लागि। राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमहरूले बेलाबखत जटिल परिस्थिति सिर्जना हुँदा पनि समुद्री आँधीमा पानीजहाजलाई डुब्नबाट बचाएझैं, सक्षम राष्ट्रनायकले राष्ट्रलाई संकटबाट जोगाउँछन्। दलको नेताले गुट र दल मात्र हेर्छन्। उनीहरू ‘राजनीतिज्ञ’ मात्र हुन सक्छन्। सुदूर भविष्य हेरेर सदैव राष्ट्रप्रति समर्पित, इमानदार तथा चिन्तित रहने व्यक्ति मात्र योग्य राजनेता मानिन्छन्। राजा वीरेन्द्र त्यस्तै राजनेतामध्येका एक थिए।मेलबर्न विश्वविद्यालयका प्राध्यापक स्कट वर्चिलले ‘द नेसनल इन्ट्रेस्ट इन इन्टरनेसनल रिलेसन्स’ ग्रन्थमा कूटनीति र हरेक राजनीतिक दर्शनले राष्ट्रिय हितलाई मध्यविन्दुमा राख्नुपर्ने सुझाव दिएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्दा राष्ट्रहितलाई नै केन्द्रमा राखेर कूटनीति र राजनीति सञ्चालन गरे, राजा वीरेन्द्रले। बेलायतको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालयका साथै अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका वीरेन्द्रले त्यहाँका प्रसिद्ध प्राध्यापकहरू बाट कूटनीति र राजनीतिको शिक्षा लिए। त्यसपछि राष्ट्रको धरातलीय यथार्थ बुझ्न उनी नेपालका कुनाकुनामा पुगे। यसले उनलाई लोकप्रिय, सफल र असल राष्ट्रनायक सावित गर्न सहयोग पु-याएको देखिन्छ।राजा वीरेन्द्र राष्ट्रवाद, शान्ति, विकास र प्रजातन्त्रका प्रवल पक्षधर थिए।

आँखा, कान, नाक र मुखमध्ये कुन रोज्ने भनेर प्रश्न गरियो भने मानिस अल्मलिन्छन्। त्यस्तै, सभ्य राष्ट्रलाई पूर्ण बनाउन राष्ट्रिय स्वाभिमानमा आधारित राष्ट्रवाद अपरिहार्य हुन्छ। शान्ति र विकास अन्योन्याश्रित हुन्छन्। स्वतन्त्रता, प्रजातन्त्र र मौलिक हकबेगर पनि जीवन चल्छ भन्ने ‘कम्युनिस्ट चिन्तन’ आजको सभ्य समाजले कदापि स्वीकार गर्दैन। तसर्थ अधिकांश मुलुकले प्रजातन्त्रलाई नै जीवन पद्धति बनाएका छन्।दरबारका पुराना फर्निचरसमेत मर्मत गरेर काम चलाउने, उत्ताउलो खर्च नगर्ने, सरल रहन मन पराउने, शिष्टाचारमा विशेष ध्यान दिने, राजोचित व्यवहार प्रदर्शन गर्ने, सबैलाई मीठो बोलेर आफ्नो बनाउने अद्भूत गुण थियो, वीरेन्द्रमा।

युवराज छँदा रसुवाबाट पैदल यात्रा गर्दै वीरेन्द्र आफ्ना सहयोगीहरूसँग पाल्पा पुगे। त्यहाँबाट बुटवलसम्म पदयात्रा गरेर जिपमा काठमाडौं फर्किने कार्यक्रम रहेछ। त्यसबेला तानसेनमा बडाहाकिम थिए, कृष्णबहादुर बर्मा। कमलपोखरीस्थित निवासमा झन्डै पच्चीस वर्ष अघि पंक्तिकारसँग कुरा गर्दै बर्माले भनेका थिए, ‘युवराज वीरेन्द्रको उमेर त्यसबेला बीस÷एक्काइस मात्र थियो तर वचन र व्यवहार परिपक्व थियो। पैदलयात्राका क्रममा सवारी हुँदा हामीसँग तानसेनमा भलिबल खोलिबक्स्यो। अनौपचारिक शैलीमा कुराकानी गरि बक्स्यो। जनतासँगै सोच्नू, जनतासँगै हिँड्नु र जनतासँगै काम गर्नु भन्ने सम्झाइबक्स्यो। प्रजातन्त्र भनेको त्यही हो भन्ने उहाँको धारणा पाएँ।

खेलकुदको प्रसंग पनि चल्यो। प्रथम एसियाली ओलम्पिकमा भाग लिन म टिम लिडर भएर दिल्ली गएको थिएँ, २००८ सालमा। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले खेलको उद्घाटन गरेका थिए। युवराजबाट ठट्टा गरिबक्स्यो –‘म पनि त्यो बेला पाँच÷छ वर्षको छँदा दरबारको आँगनमा फुटबल खेल्थें होला।’राजा त्रिभुवनको शुभराज्याभिषेकका बेला (सन् १९१३) काठमाडौंस्थित ब्रिटिस राजदूतबाहेक कोही विदेशी सहभागी भएनन्। किनभने त्यो बेला नेपालको कूटनीतिक सम्बन्ध ब्रिटेनसँग मात्र थियो। भारत ब्रिटेनकै अधीनमा थियो। चीनमा सन् १९१२ मा राजतन्त्र मासिएपछि गृहयुद्धको धुवाँ फैलिन थालेको थियो भने नेपालसँग चीनको कूटनीतिक साइनो पनि थिएन।

दक्षिण एसियाको सबैभन्दा प्राचीन राष्ट्र नेपाल विश्वबाटै अलग थियो भन्ने कुरा त्रिभुवनकी पत्नीको उपचारमा खटिएकी एरिका ल्युस्टागले लेखेकी छन्।राजा महेन्द्रले पचासांै राष्ट्रको भ्रमण गरेर नेपाललाई विश्व समुदायमा चिनाए। संयुक्त राष्ट्रसंघको सदस्य बनाए, चीन र भारतसँग सन्तुलित सम्बन्ध स्थापना गरे। उनको शुभराज्याभिषेकमा पन्ध राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा विशिष्ट पाहुनाहरू सामेल भएका थिए। ‘माउन्टेन इज यङ्’ उपन्यासमा तत्कालीन नेपाल र काठमाडौंको शिक्षित÷सम्भ्रान्त वर्गको सुन्दर चित्रण गरेकी छन् सो पुस्तककी लेखिकाले।

हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा भव्य होटल रहेको र त्यहाँ केही पाहुनालाई राखिएको पुराना मानिसहरू बताउँछन्। सोही होटलमा बसेर रिपोर्टिङ गरेका केही राष्ट्रका पत्रकारले ‘कोरोनेसन’ भव्य भएको उल्लेख गरेका छन् भने माउन्टेन इज यङ् पुस्तककी लेखिकाले तत्कालीन कालखण्डको वर्णन गरेकी छन्।सन् १९७५ को मार्च १० तारिखमा प्रकाशित ‘टाइम’ पत्रिकाले राजा वीरेन्द्रको शुभराज्याभिषेक, उनको अन्तर्राष्ट्रिय सम्बन्ध, राजनेता र कूटनीतिज्ञका गुणले भरिएको व्यक्तित्व आदिको चर्चा गरेको पाइन्छ। झन्डै साठी राष्ट्रका राष्ट्रनायक, सरकार प्रमुख, विशिष्ट विद्वान–विदुषीले वीरेन्द्र राजाको शुभराज्याभिषेक अवलोकन गरे।

क्रिश्चियन, मुसलमान, बौद्धमार्गी र यहुदीलगायतका पाहुनाले हिन्दु राजाको शुभराज्याभिषेक अभिरुचिपूर्वक हेरे। अन्तर्राष्ट्रिय मिडियाका निम्ति पनि त्यो उत्सव सुखद र अभूतपूर्व घटना थियो।राजा महेन्द्रले छोराछोरीलाई दार्जिलिङको प्रसिद्ध युरोपेली शैलीको स्कुलमा पढाए। त्यसबेला भारतमा ब्रिटिसहरूको शासन थियो र स्कुलको अनुशासन पनि कडा थियो। युरोपका सुयोग्य शिक्षक शिक्षिकाले पढाउने सेन्ट जोसेफ र सेन्ट हेलेन्स जस्ता स्कुल नामी थिए। महेन्द्रका छोराहरू वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रले सेन्ट जोसेफमा पढे। छो रीहरू शान्ति, शारदा र शोभाले सेन्ट हेलेन्स (खर्साङ) पढे।

कठोर अनुशासन, व्यावहारिक ज्ञान, नैतिक शिक्षा, सच्चरित्र तथा जीवन उपयोगी व्यवहारको धरातलमा ‘स्कुलिङ’ भएकाले राजा वीरेन्द्र मितव्ययी तथा नवीन शैलीमा सोच्ने राष्ट्रनायक बने। दरबारका पुराना फर्निचरसमेत मर्मत गरेर काम चलाउने, उत्ताउलो खर्च नगर्ने, सरल रहन मन पराउने, शिष्टाचारमा विशेष ध्यान दिने, राजोचित व्यवहार प्रदर्शन गर्ने, सबैलाई मीठो बोलेर आफ्नो बनाउने अद्भूत गुण थियो, वीरेन्द्रमा। कसरी जनता खुशी र सुखी होलान्, कसरी राष्ट्र सवल, स्वाभिमानी र आत्मनिर्भर रहिरहला भन्ने वीरेन्द्रको मुख्य चिन्ता र चासो देखिन्थ्यो।

उनलाई भेट्ने तथा उनका सहयोगीहरूको धारणा छ, राजा वीरेन्द्र सदैव राष्ट्र र जनताकै बारेमा मात्र कुरा गर्थे। उनको निजी स्वार्थ थिएन।सुरुमा राजतन्त्रविरोधी रहेका राजनीतिज्ञ गोरेबहादुर खपांगी (मगर) भन्ने गर्थे, ‘मलाई पनि राजा भनेको टर्रो, घमण्डी, शोषक र हेपाहा हुन्छ भन्ने लाग्थ्यो। तर, वीरेन्द्रसँग भेट गरेपछि मेरो धारणा नै बदलियो। वीरेन्द्र शालिन, शिष्ट, बौद्धिक, ज्ञानी, सभ्य र साह्रै संस्कारी रहेछन्। त्यस्तो राजालाई कुरै नबुझी गाली गरेछु। राष्ट्रियता र प्रजातन्त्रप्रति मात्र होइन, विकास र शान्तिप्रति उनी हृदयदेखि समर्पित थिए।’ खपांगीका लेख, भाषण र अन्तर्वार्ताहरूमा पनि यस्ता प्रसंगहरू आएका छन्।

३ जुन २००१ मा बार्बरा क्रोसेटले ‘न्यूयोर्क टाइम्स’ पत्रिकामा लेखिन्, ‘नारायणहिटी हत्याकाण्डपछि नेपाल गम्भीर राजनीतिक संकटमा फस्ने देखिएको छ।’ उनले भनेझंै नारायणहिटी हत्याकाण्डपछि नेपाल साँच्चिकै गहिरो संकटमा फस्यो। अहिलेसम्म पनि हाम्रो राजनीतिक बाटो र भविष्य स्पष्ट देखिँदैन। राष्ट्रले सक्षम नेतृत्व नपाउँदा संकट गहिरिँदै गएको छ।टाइम पत्रिकाले राजा वीरेन्द्रको हत्यापछि ‘द डेथ अफ विष्णु’ शीर्षकको आलेखमा वीरेन्द्रलाई नेपाली जनता साँच्चै भगवान् ठान्थे भनेको छ। (३ जुन २००१) विदेशका धेरै राजनेता तथा विद्वान–विदुषीले वीरेन्द्रको हत्याप्रति गहिरो दुःख व्यक्त गरे।

उनी इमानदार, सरल र सच्चा राष्ट्रवादी मात्र थिएनन्, नेपालीका भरपर्दा अभिभावक पनि थिए। त्यसैले नेपाल र नेपालीको हितबाहेक झिनामसिना स्वार्थमा अल्मलिएनन् वीरेन्द्र।राजा वीरेन्द्रलाई हरेक वर्ष उनको जन्मदिन (पुस १४ गते) र देहान्त भएको दिन (जेठ १९ गते) राष्ट्रवादी नेपालीले सम्झना गर्छन्। उनको यागदान अतुल्य, अमूल्य र अजर–अमर छ। राजा महेन्द्र र राजा वीरेन्द्रका योगदान तथा सत्कर्महरूलाई छोपिदिने हो भने देखाउन योग्य थिति, सुधार, संरचना र निर्माण, के–के बाँकी रहन्छ र ! तसर्थ राजा वीरेन्द्रका ढालिएका सालिकहरू उठाउँदै उनका बारेमा नयाँ पुस्तालाई ज्ञान दिन सके त्यसले राष्ट्रवादी चिन्तनको पुनर्जागरण हुनेछ र वीरेन्द्रप्रति सच्चा श्रद्धाञ्जलीसमेत ठहरिनेछ।

Related Articles

Back to top button
Close