ट्रिपरले किचेपछि गोडामा रहेन एक टुक्रा हड्डी पनि , सडकको बीचमा ‘ऐया ऐया, आमा…पानी’….

Sharing is caring!

०६७ माघ १९ गते बुधबार दिनको सवा १२ देखि साँढे १२ बजे बीचको समय हुँदो हो । ललितपुर चाँगाथलीस्थित कालिञ्चोक माई ग्रिल उद्योगका सञ्चालक मित्र कुमार तामाङको मोटरसाइकल पछाडि बसेर कोटेश्वरतिर आउँदै थिएँ । ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा केही फोटो खिचेर कोटेश्वरतिर आउँन लाग्दा मोडिन ठिमी चोक नै पुग्नपर्ने भयो ।

जापान सरकारले बनाइदिएको तिनकुने भक्तपुर खण्डको सडकलाई चौडा गर्ने क्रममा जहातहीँबाट मोटरसाइकल मोड्न नमिल्ने बनाएकोेले हामी मोटरसाइकल घुमाउनकै लागि ठिमी चोक पुगेका थियौँ । त्यतिखेर भक्तपुरतिरबाट एउटा ट्रिपर र त्यसको पछिपछि इँटा बोकेको ट्रक आइरहेको थियो । ती दुवै गाडीलाई पठाएपछि मात्रै कुमारले मोटरसाइकल काठमाडौँतिर सोझ्याए । अनि हामी त्यही ट्रकको पछाडि पछाडि मोटरसाइकलमा आउँदै थियौँ ।

ठिमीको चारदोबाटो चोकमा आइनपुग्दै गठ्ठाघरको उकालोमा ठुलो आवाजका साथ सडकको बीचमा मानिस लडेको जस्तो देखियो । हामीभन्दा त्यो दूरी लगभग दुईसय मिटर अगाडि थियो । पाइन्टको पेटीमा राखेको सानो डिजिटल क्यामेराबाट कुमारको मोटरसाइकलको पछाडि सीटमा बस्दाबस्दै फटाफट केही र बाँकी २-३ वटा र घटनास्थल पुग्नासाथ अरू २÷३ वटा फोटो खिचेँ । घटनास्थलमा हेलमेट लगाएका एकजना व्यक्ति आफ्नो दुवै हातले ट्रिपरले किचेर थिलथिलो भएको देव्रे गोडा सकीनसकी उचाल्दै सडकको बीचमा ‘ऐया ऐया, आमा…पानी’ भनेर छटपटिइरहेका थिए । उनलाई भर्खरै हामीभन्दा अघिअघि तीव्र गतिमा आएको ट्रिपरले ठक्कर दिएर देब्रे गोडा तिघ्रादेखि मुनि धुलो हुनेगरी किचेर भागेको रहेछ ।

एकातिरबाट म फोटो खिच्दै दौडिँदै घटनास्थलतर्फ आएँ भने गठ्ठाघरतिरबाट एकजना सामुदायीक महिला प्रहरी हवल्दार घटनास्थलतिर दौडेर आउँदै थिइन् । उनी आउनासाथ घाइतेको उद्धार गर्न हारगुहार गर्न थालिन् । घाइतेको देब्रे गोडाबाट केही मासुको टुक्रा उछिट्टिनुको साथै लगभग तीनमिनेटमा सडक नै रगताम्मे हुनेगरी रगत बगिसकेको थियो । घटनास्थलमा एक दुईजना गर्दै हेर्ने मानिसको संख्या बढ्दै थियो, तर घाइतेलाई उपचारका लागि उठाएर गाडीमा हाल्न कोही अगाडि सरेनन् । घाइते आफ्नो गोडा हेर्दै ऐया ऐया भनिरहेको दृष्य अत्यन्तै विभत्स र पीडादायी थियो ।

३० सेकेण्डमा ६ वटा फोटो खिचिसकेपछि मैले पनि पत्रकारको भन्दा एउटा स्काउटको भूमिका निभाउँदै महिला प्रहरीसँगै घाइतेलाई दुर्घटनास्थलबाट उचालेर सडक किनारसम्म लग्यौँ । त्यसपछि उपचारका लागि अस्पताल पठाउने गाडी खोज्न थालेँ । संयोगले त्यति नै खेर साइरन बजाउँदै भक्तपुर नगरपालिकाको एम्बुलेन्स बिरामी बोकेर काठमाडौंतिर आउँदै थियो । एम्बुलेन्स रोकेर त्यसमा रहेका बिरामीका आफन्तमध्ये केहीलाई ओराल्यौँ । त्यसपछि घाइतेको दाहिने हात समात्दै उनलाई एम्बुलेन्समा राख्न म हतारमै एम्बुलेन्स भित्र छिरेँ । देबे्र हात तिनै महिला प्रहरी हवल्दारले समातेर उचालेकी थिइन् भने दाहिने गोडा अर्कै व्यक्तिले ।

ट्रिपरले किचेर थिलोथिलो भएर पिसिएको देबे्र गोडा समात्ने ठाउँ थिएन, तैपनि च्यातिएर रगताम्मे भएको देव्रे गोडाको पाइन्टको टुक्रा समात्दै त्यो गोडालाई पनि घाइतेसँगै एम्बुलेन्सको सिटमा राखिदियौँ । घटनास्थल र घाइतेको अवस्था हेर्दा हामीले अलिकति पनि ढिला गरेमा उनको देव्रे गोडामात्रै हैन, सिंगो ज्यान नै गुम्ने खतरा थियो । त्यसमाथि पनि भाग्यवस त्यति नै खेर एम्बुलेन्स आइसकेको हुनाले हामीले घाइतेलाई जतिसक्दो छिटै अस्पताल पठाउन चाहन्थ्याैँ ।

हामीले घाइतेलाई एम्बुलेन्सको सिटमा राख्ने वेलासम्म उनी होसमै थिए र आफ्नो विभत्स गोडा हेर्दै ऐया ऐया भन्दै थिए । निकै रगत बगिसकेकोले उनको अनुहारको रंग सेतो हुँदै थियो । उनलाई एम्बुलेन्समा हालेर पठाइसकेपछि मेरो हातगोडा लुगलुग काम्न थाले । घटनास्थल र छटपटिइरहेका घाइते देखेपछि अघिसँग मोटरसाइकल चलाएर आएका साथी कुमार त सडक किनारमा मोटरसाइकल अड्याउँदै ओठ तालु सुकाएर थरथर कामिरहेका रहेछन् ।

पछि थाहा भयो, ती घाइते बा .२ प १९८८ का मोटरसाइकल चालक भक्तपुर कमलविनायकका २७ वर्षीय दीपक खनिवा रहेछन् भने उनको गोडालाई किचेर काट्नुपर्ने स्थितिमा पु¥याउने भक्तपुरकै अर्काे टोलका बा.२ ख ७६४० नम्बरका ट्रिपर चालक विक्रम गोसाईं रहेछ । दीपकको ग्वार्कोस्थित बि एन्ड बी अस्पतालमा तत्काल उपचार गरेर दुर्घटनाबाट थिलथिलो भएको उनको देब्रे गोडा काट्नुपरेको थियो ।

काठमाडौंतिर आउने सडकको दाहिने किनारमा घटना घटेकोले दोष ट्रिपर चालकको या घाइते आफैँको हो ? त्यो ती दुवैलाई मात्र थाहा छ । ट्रिपर चालक विक्रमले कोटेश्वर ट्राफिकमा गाडीसहित आत्मसमर्पण गरेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । दोष जसको भए पनि दुर्घटना अत्यन्त विभत्स थियो, पिसिएको गोडाको अवस्था हेर्दा त्यसमा हड्डीको एउटा पनि टुक्रा बाँकी थिएन ।

गोडा गुमाउनु परेतापनि उनी जीवित छन् । जतिखेर दीपक दुर्घटनामा परेका थिए, त्यतिखेर उनकी पत्नी ८ महिनाकी गर्भवती रहिछिन् । दुर्घटनामा मैले खिचेको तस्बिर पत्रिकामा छापिएपछि मलाई कोटेश्वरमा भेट्न आएका दीपकका दाजुले भनेपछि उनका बारेमा बाँकी कुरा थाहा पाएँ ।

जापान सरकारले काठमाडौं भक्तपुर सडकको चापलाई मध्यनजर गर्दै विस्तार गरेको सडक प्रयोगमा आएपछि आजको मितिसम्म चार दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने दीपकजस्ता तीनसयभन्दा बढीको अंगभंग र शरीरको महत्वपूर्ण अंग गुमाउन परेको छ । यसतर्फ वेलैमा ट्राफिक सचेतना नअपनाउने हो भने भविष्यमा यसै सडकबाट कतिको घर उजाडिने हो, अनुमान गर्न कठिन छ ।

यो लेख सौर्य दैनिकको लागि बलराम प्यासीले लेख्नु भएको हो !

कमेन्ट गर्नुहोस्