प्रमुख प्रतिपक्ष दलको नेता को गृह जिल्लामा किसानको बेहाल: बजार नपाउँदा कुहिन थाल्यो जुनार

Sharing is caring!

प्रमुख प्रतिपक्ष दलका नेता शेर बहादुर देउबाको गृह जिल्ला डडेल्धुरामा किसानहरुले उचित मूल्य नपाउदा जुनार कुहिन थालेको छ ।


बजार नपाउँदा डडेल्धुरामा लाखौं रुपैयाँको जुनार शीतभण्डारमै कुहिन थालेको छ। गत मंसिरमा किसानबाट खरिद गरी अमरगढी नगरपालिका–१ दहस्थित उग्रतारा शीतभण्डारमा राखिएको करिब दुई सय क्विन्टल जुनारले उचित मूल्य नपाउँदा कुहिन थालेको हो ।

प्रतिकेजी २५ रुपैयाँका दरले खरिद गरिएको करिब पाँच लाख रुपैयाँ बराबरको जुनारले शीत भण्डारमा रहेको छ।  भागेश्वर गाउँपालिका सिराड लगायतका गाउँका किसानबाट खरिद गरी शीतभण्डारमा राखिएको जुनार कुहिन थालेपछि व्यापारी चिन्तित बनेका छन्।

जुनारलाई कोल्डस्टोरमा ४० देखि ४५ दिनसम्म राख्न मिल्ने भए पनि बजार नपाउँदा बाध्य भएर निर्धारितभन्दा दोब्बर समय शीतभण्डारमै राख्नु पर्दा जुनार कुहिएर फाल्नु परेको उग्रतारा शीतभण्डारका अध्यक्ष भोजराज भट्टले बताए।  फागुनमा खरिद गरी भण्डार गरिएको जुनार चैत तथा बैशाखमा बिक्री गर्दा बजार पाउने थियो।

उग्रतारा शीतभण्डारका अध्यक्ष भट्टले भने, ‘हामीले मंसिरमै खरिद गरी शीतभण्डारमा राख्यौं। अहिले बजारमा बोटबाट पनि जुनार आउँदैछ। शीतभण्डारको कसैले लिन खोज्दैनन्।’ गत वर्ष मात्रै स्थापना भएको शीतभण्डारमा यसअघि आलु मात्रै राखिएको थियो। यस वर्ष पहिलो पटक किसानलाई पनि राहत र व्यवसायिक रुपमा लाभ लिन सकिने भन्दै जुनार भण्डारणमा गरिएको हो। ‘जुनार टिप्दा चोट पटक लागेका दाना छिट्टै कुहिने रहेछ,’ अध्यक्ष भट्टले भने, ‘प्राविधिक ज्ञान नभएकाले पनि हामी केही असफल भयौं। काम गर्दै सिक्दै जाने जस्तो भयो। किसानले त राम्रो मूल्य पाए। तर व्यवसायी त्रसित हुने अवस्था आयो।’ चिसो हट्न नसकेकाले पनि जुनारले यस वर्ष त्यति बजार पाउन नसकेको उनको भनाइ छ।

पुरा पद्नुहोस : अन्नपुर्ण पोस्टमा